Bhutan News Service |
भूकम्पले एक जनाको ज्यान लियो, अरु चार घाइते Posted: 20 Sep 2011 09:20 AM PDT भारतको सिक्किममा केन्द्र रहेको ६.८ रिक्टर स्केलको शक्तिशाली भूकम्पले भूटानमा कम्तिमा एक जनाको ज्यान लिएको छ भने चार जना घाइते भएका छन् । पछिल्लो चोटी प्राप्त समाचारअनुसार भूकम्पमा परी छुकामा खोलाबाट पानी ल्याउने क्रममा एक जना ४३ वर्षीय महिलाको ज्यान गएको छ । उनी झर्दै गरेका चट्टानहरुको प्रहारमा परेकी थिइन् । अरु चार जना घाइतेहरु उत्तरी भूटानको हा जिल्लाका बासिन्दा रहेका छन् । उनीहरुको नेसनल रेफरल हस्पिटल, थिम्पुमा उपचार भैरहेको छ । सख्त घाइते भएका तीन जना महिला भाषा तथा संस्कृति संस्थान, सिम्थोखाका विद्यार्थी भएको जनाइएको छ । भूकम्पका कारण पारोमा ताजोंगले केही संरचनात्मक क्षति बेहोरेको छ भने फुन्छोलिंगमा केही भवनहरु चर्किएका छन् । फुन्छोलिंगमा भू-क्षयले अस्पतालतर्फ गुड्दै गरेको एउटा कार पुरिदिएको छ । कारका चालक भने उम्कन सफल भएका छन् । दागानामा भूकम्पले लेजाब गाउँको फुन्सुम सामुदायिक प्राथमिक विद्यालयमा क्षति पुर्याएको छ । उता साम्चीमा करिव एक दर्जन घरहरुमा क्षति पुगेको छ भने बारामा केही घरहरु ढलेका छन् । छुकामा चार वटा विद्यालय, तीनवटा प्राथमिक स्वास्थ्य चौकी र तीनवटा आरएनआर केन्द्रहरु क्षतिग्रस्त भएका छन् । उता दागानामा दुईवटा आरएनआर केन्द्र, तीनवटा विद्यालय, पांचवटा सामुदायिक केन्द्र र एउटा प्राथमिक स्वास्थ्य चौकीमा क्षति पुगेको छ । सिक्किमको राजधानी गान्तोकदेखि करिव ६४ कि.मि टाढा प्रमुख केन्द्र रहेको उक्त भूकम्पले पूर्वी भारत, भुटान र नेपालमा धेरै जनाको ज्यान लियो, सैयौंलाई घाइते बनायो अनि असंख्य पूर्वाधारहरुमा क्षति पुर्यायो । फोनको नेटवर्कसमेत अवरुद्ध भएकाले यकिन विवरण अझैसम्म प्राप्त भैसकेको छैन । यसैबीच, प्रधानमन्त्री जिग्मी वाई थिन्लेले अरु सम्भावित प्रकोपहरुबाट भगवानले रक्षा गर्छन् भन्दै फेसबुकमार्फत देशबासीहरुलाई शान्त रहन आग्रह गरेका छन् । |
You are subscribed to email updates from Bhutan News Service To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 20 West Kinzie, Chicago IL USA 60610 |