Pages

Bhutan News Service

Bhutan News Service


अन्त्येष्टि मंगलबार हुने, सहयोगको आग्रह

Posted: 05 Dec 2010 05:56 PM PST

गत मंगलबार अमेरिकाको एरिजोनास्थित आफ्नै घरमा आत्महत्याको प्रयास गरिरहेकी मेनुका पौडेललाई आपत्कालीन रूपमा अस्पताल भर्ना गरिए पनि उनको प्राण बचेन । एरिजोनास्थित भूटान समाचार सेवाका प्रतिनिधिको जानकारीअनुसार उनको अन्त्येष्टिक्रिया हिन्दू परम्पराअनुसार नजिकैको अन्त्येष्टिगृहमा आगामी मंगलबार हुने भएको छ ।

यसै क्रममा मृतकका परिवारको आवश्यक संकटकालीन सहायताको लागि मृतककी आमाको नाममा ब्यांक खाता खोलिएको छ । पौडेल परिवारलाई आपत्कालीन सहायता गर्न इच्छुक महानुभावहरूको सुविधाका लागि सो ब्यांक खाताको विवरणका लागि editor@bhutannewsservice.com मा सम्पर्क गर्नु होला ।

एरिजोनाकै सेन्ट जोसेफ अस्पतालका डाक्टरहरूले बुधबार बेलुकी करिब ६ . ३० बजेतिर मेनुकालाई मृत घोषित गरेका थिए । २० वर्षीया मेनुकालाई गत मंगलबार अपरान्ह आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थाबाट उद्दार गरिएको थियो ।

भूटानको दागानाबाट आएको सो परिवार नेपाल-झापाको बेल्डाँगी २ शरणार्थी शिविरबाट दुई महिनाअघिमात्र एरिजोनामा पुनर्वाश भएको थियो । बेल्डाँगी दुईको सेक्टर ए-मा अझै उनको परिवारका दुई सदस्य पुनर्वाश प्रक्रियाका लागि पर्खिरहेका थाहा भएको छ ।

यसैबीच विशेष सूत्रबाट थाहा लागेअनुसार शिविरमा रहेका पौडेल परिवारका सदस्यहरू पनि तत्कालै एरिजोना आइपुगेर शोकाकुल परिवारमा सामेल हुने तयारी भइरहेको छ ।

हालसम्म मेनुकाका वृद्ध-वृद्धा आमा, बाबा र एउटी बहिनी एरिजोनामा छन् भने पौडेल परिवारका छोरा हरिको परिवार पुनर्वाश प्रक्रियाको लागि शिविरमा पर्खिरहेको छ ।

मेनुकाले आत्महत्या गर्नुको कारण अहिलेसम्म पत्तो लागेको छैन ।

(एरिजोनाबाट नन्दिता खनालको सहयोगमा)

शिविरहरूमा अन्तर्राष्ट्रिय अपांगता दिवस पालन

Posted: 05 Dec 2010 05:53 PM PST

झापाका सातवटा शरणार्थी शिविहरूमा गत शुक्रवार १९ औं अन्तर्राष्ट्रिय अपांगता दिवस पालन गरियो । कारितास नेपालअन्तर्गत क्रियाशील डिस-एबिलिटी केन्द्रले विभिन्न कार्यक्रमका साथ सो दिवस मनाएको हो । सो क्रममा गोल्धाप शिविरमा ''अपांगहरू पनि सपांगसरह योग्य छन्'', जस्ता नाराहरू लेखिएका प्लेकार्डसहित प्रदर्शनसमेत गरिएको थियो । सो प्रदर्शनमा करिब ५०० शरणार्थीले भाग लिएका जनाइएको छ ।

(गोल्धापबाट तिलक निरौलाको सहयोगमा ) 

सर्वोच्चद्वारा सरकारी निर्णयस्थगनको आदेश

Posted: 05 Dec 2010 05:51 PM PST

नेपालको सर्वोच्च अदालतले सन् २००१ मा भूटान पिपल्स पार्टीका तत्कालीन अध्यक्ष राजकुमार बुढाथोकीको हत्यामा संलग्नहरूबारे मुद्दा फिर्ता लिने नेपाल सरकारको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ ।  

बुढाथोकी हत्याकाण्डबारेको मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध वर्तमान पार्टी अध्यक्ष बलराम पौडेलको रिट-निवेदनमा माथि विचार गर्दै यसको टुंगो नलागेसम्म मुद्दा खारेजीसम्बन्धी सरकारी निर्णय स्थगन गर्न सर्वोच्चका न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले आदेश दिएको हो ।

रिजालद्वारा एसएएचआर-लाई भूटानशाखा खोल्न आग्रह

Posted: 05 Dec 2010 05:49 PM PST

एउटा बलियो निकायले निरंकुश गतिविधिको निरीक्षण गर्न नथालेसम्म भूटानको तानाशाही सरकारले मानवाधिकारको उल्लंघन जारी राख्ने बताउँदै निर्वासित भूटानी मानवाधिकारवादी नेता टेकनाथ रिजालले दक्षिण एशियाली मानवाधिकार गठबन्धन एसएएचआर-लाई भूटानमा आफ्नो शाखा खोल्न आग्रह गरेका छन् ।  

नेता रिजालका अनुसार  एसएएचआर-ले भूटानका सम्बन्धमा  धेरै सम्मेलन र प्रकाशन गतिविधि सञ्चालन गरेको छ । त्यसर्थ अब यसले भूटानमा मानवाधिकार उल्लंघनबारे निरीक्षण गर्न शाखा कार्यालय खोल्ने अनुमतिका लागि पहल गर्नसक्छ ।

गत शनिवारदेखि काठमाडौंमा शुरु भएको ''दक्षिण एशियाका लागि चुनौतीहरूः मानवाधिकार र प्रजातन्त्र'', नामक तीनदिने क्षेत्रीय सम्मेलनमा आफ्नो तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै नेता रिजालले  भने, ''मानवाधिकार र प्रजातन्त्रको सवालमा भूटानले अन्तर्राष्ट्रिय समुदायको आँखामा छारो हाल्दैछ ।''