Pages

Bhutan News Service

Bhutan News Service


प्र.म.थिन्ले क्युनसेलसित असहमत

Posted: 09 Oct 2010 09:51 PM PDT

अफ्नो वक्तव्यलाई क्युनसेलले तोडमोड गरी छापेको भन्दै भूटानका प्रधानमन्त्री जिग्मे वाइ थिन्लेले गम्भीर असहमति प्रकट गरेका छन्।

प्र.म.थिन्लेले स्नातक विद्धार्थीहरूलाई सम्बोधन गर्ने एउटा सातौं 'प्रेस मिट' नामक औपचारिक कार्यक्रममा बोलेका कुरालाई क्युनसेलले गलत प्रस्तुति गरेको आरोप लगाएका छन्। 'भूटानी जनतालाई पूर्ण रोजगारी' दिलाउने भन्ने वाक्यलाई क्युनसेलले 'शतप्रतिशतलाई रोजगार दिलाइने' भनेर लेखिदिएको भन्दै प्र.म.ले असहमति जाहेर गरेका हुन्। ''पूर्ण रोजगारी र शतप्रतिशत रोजगारी भन्ने अलग अलग कुरा हुन्'', प्र.म.ले भनेका छन्। धेरै देशमा पाँच प्रतिशत रोजगारीलाई पूर्ण रोजगारी भन्ने गरिएको तर, भूटानमा बेरोजगारी दरलाई घटाएर २.५ प्रतिशतमा ल्याइपुर्याउनुलाई पूर्ण रोजगारी भन्न सकिने प्र.म. थिन्लेले बताएका छन्। प्र.म. थिन्लेले भूटान प्रसारण सेवाले समेत जनतालाई सत्य-तथ्य समाचार पुर्याउन नसकेको गुनासो गरेका छन्।

चाखलाग्दो कुरा त के छ भने, समाचार प्रसारण-प्रकाशनको यो गल्ती प्रधानमन्त्रीको जोंखामा दिइएको भाषणलाई अंग्रेजीमा अनुवाद गर्नेक्रममा भएको हो।

केन्टुकीमा भूटानी समाज

Posted: 09 Oct 2010 09:08 PM PDT

पुनर्वाश कार्यक्रमअन्तर्गत अमेरिकाको केन्टुकी राज्यस्थित लेक्सिङ्टन महानगरमा पुनर्स्थापित भूटानीहरूले 'लेक्सिङटन भूटानी समाज' स्थापना गरेका छन्।
केही दिनदेखि लगातारको छलफल र परामर्शपछि आएको निर्णयअनुसार २० जनाको केन्द्रिय समिति र ६ जनाको सल्लाहकार मण्डली रहने गरी शनिबार, अक्टोबर ९ को दिन सो सामाजिक संगठनको संरचनासहित औपचारिक घोषणा गरिएको छ। लिला मिश्र अध्यक्ष र शेखनाथ उप्रेती उपाध्यक्ष रहेका सो संगठनमा बुद्ध अधिकारी र खडानन्द खतिवडालाई कोषाध्यक्षमा चुनिएको थाहा भएको छ। नवगठित समाजका अध्यक्ष लिला मिश्रका अनुसार यस संगठनले सांस्कृतिक धरोहरको रक्षा, विभिन्न सामाजिक कृयाकलापको आयोजना तथा लेक्सिङटनमा रहेका भूटानीहरूको कल्याणखातिर समर्पित भएर काम गर्नेछ।
शनिबार गरिएको घोषणाको औपचारिक कार्यक्रममा लेक्सिङटनमा पुनर्स्थापित करिब २५ परिवारका प्रतिनिधिहरू उपस्थित थिए।