Pages

Bhutan News Service

Bhutan News Service


शोकग्रस्त भए एरिजोनाका भूटानी

Posted: 11 Sep 2010 03:10 PM PDT

सेप्टेम्बर 7 का दिन घर नजिकैको स्वीमिङ पूलमा डुबेर सिकिस्त बनेकी 17 वर्षीय पूर्णीमाया तामाङको मृत्युले एरिजोनामा हुने सबै भूटानीलाई शोकमग्न बनाएको छ। ''पूर्णीमाया अब हामीसँग छैनन्,''एरिजोना-भूटानी समाजका अध्यक्ष मनोरथ खनालले भूटान समाचार सेवालाई भने, ''यति सानै किशोरीको यो असामयिक निधनले हामी सबै भूटानीलाई शोकाकुल बनाएको छ।''

अध्यक्ष खनालका अनुसार पूर्णीमायाको उपचार भइरहेको सन्त जोसेफ अस्पतालले सेप्टेम्बर 8 बेलुकीतिरै मृत्युको सूचना दिइसकेको थियो। ''हामीले अस्पताल र तामाङका परिवारलाई पनि भेटेर आयौं, खनालले भने, ''हामीले तामाङ परिवारलाई सबै व्यवस्थामा सहयोग गर्ने वचन दिएका छौं, यो शोकाकुल घडीमा हाम्रो समुदायका प्रत्येक व्यक्ति पनि सचेत बनेका छन्।'' अस्पताल स्रोतले मृतकको दाह-संस्कारका लागि धेरै औपचारिकता पूरा गर्नुपर्ने बताएकोले पूर्णीको अन्तिम संस्कार गर्न केही दिन पर्खनुपर्ने पनि अध्यक्ष खनालले भूटान समाचार सेवालाई जनाएका छन्।

खनालका अनुसार पीडित परिवारले बौद्धिक परम्परामा आधारित दाह-संस्कार गर्ने इच्छा जाहेर गरेकोले अर्को शहरमा बस्ने आफ्नै समुदायका एकजना लामालाई बोलाइएको छ। सो असम्भव भए नेपाली समुदायकै कुनै लामालाई बोलाएर सो कार्य गराउने अठोट बनाएको खनालले बताए।

यसरी नै 'वेल कम टू अमेरिका' नामक संस्थाले पीडित परिवारलाई केही सहायता गर्ने भएको छ भने तामाङ परिवारलाई पुनर्वास गराउने संस्थाका कर्मचारीहरू घटनाको लगत्तैदेखि परिवारसँगै छन्। क्याथोलिक च्यारिटीका केस मेनेजर खगेन्द्र बराल हरेक आवश्यक गतिविधिमा सक्रिय रहेका छन् भने सबै कुरामा क्याथोलिक च्यारिटीको सहयोग हुने आश्वासन पनि उनले दिइसकेका छन्।

अमेरिकामा शरणार्थीलाई पुनर्वास गराउने धेरै संस्थामध्ये क्याथोलिक च्यारिटी एक उत्तम र सक्षम सरोकारवाला संस्था भएको दाबी गर्दै अध्यक्ष खनालले क्याथोलिक च्यारिटीबाटै दाह-संस्कारको लागि सबै आवश्यक सहायता पाइने आशा पनि व्यक्त गरे। भूटान समाचार सेवाले क्याथोलिक च्यारिटीसँग थप प्रतिक्रियाको लागि सम्पर्कको लागि प्रयास गर्दा सम्पर्क हुनसकेन।

स्व. तामाङले आफूपछि दुई दिदी-बहिनी, तीन दाजु-भाइ र संसार देखाउने अभिभावकलाई छोडेर गएकी छन्।

हत्याको आशंकामा दुई शरणार्थी पक्राउ

Posted: 11 Sep 2010 02:30 PM PDT

डेढ महिनाअघि झापाको दमक ३ स्थित हुम्से-दुम्से सामुदायिक वनक्षेत्रमा मृत अवस्थामा फेला परेका एक किशोरको हत्याको आरोप लागेका दुईजना भुटानी शरणार्थीलाई प्रहरीले पक्राउ गरेको  छ ।

गएको असार ३० मा १४ बर्षिय ती मंगोलियन अनुहारका बालकको हत्यामा सलग्न बेलडाँगी ३ सेक्टर सी ३ छाप्रा नम्बर ३५ गोपीनाथ दर्जी र सोही सेक्टर छाप्रा नम्बर ३६ का अमरबहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार दर्जी दाजुभाइलाई तनहुँ र पोखराबाट एक साताअघि पक्राउ गरिएको हो । मृतक बालकको अझै सनाखत हुन सकेको छैन। बयानका क्रममा उनीहरुले सुन चोरेको खुलासा गरिदिने डरले हत्या गरेको स्वीकारेका छन् ।

खुदुनाबारीमा फेरि अर्को मृत्यु, आम्दाको चासो न्यून

Posted: 11 Sep 2010 02:29 PM PDT

केही साताअघि एउटी किशोरीको मृत्युको घटनालाई दोहोऱ्याउँदै खुदुनाबारी शिबिरमा फेरि अर्को दुर्घटना भएको छ, जसले सबै भूटानीको हृदयमा चोट पुर्याउन सक्छ! समयमा बिमारको पहिचान र उपचार हुन नसक्दा खुदुनाबारी, सेक्टर सी 1, छाप्रा नम्बर 49 का 40 वर्षीय भागिमान गुरुङको असामयिक मृत्यु भएको छ। शरणार्थीहरूको स्वास्थ्य रक्षामा काम गर्ने संस्था आम्दा-नेपालको चासो र संवेदनशीलता कम भएको कारण सो मृत्यु भएको परिवारजनको गुनासो छ।

हाम्रा शिबिर समाचारदाताका अनुसार बुधबार मुखबाट रगत आएपछि गुरुङ शिबिरस्थित स्वास्थ्य केन्द्रमा देखाउन गएका थिए। उनलाई 'टी.बी.' भएको आशंकामा अर्को दिन रगतजाँच गर्ने भनी स्वास्थ्य केन्द्रबाट फर्काइयो, बिहीबार बिहान 7.30 मा उनको मृत्यु भयो! खुदुनाबारी सचिव भानु ढुङ्गानाको भनाइमा गुरूङ स्वास्थ्य केन्द्रबाट फिरेपछि सिकिस्त भए। तर, 'टीबीको आशंका' भनिएकोले उनी तत्काल फेरि त्यहाँ गएनन्। जब बिहीबार बिहानै उनलाई स्वास्थ्य केन्द्र लगियो, शिविरमा उनको उपचार नहुने भएकोले उनलाई अन्यत्र पठाउने निधो भयो। यद्धपि, आम्दाका शिबिरस्तरीय कर्मचारी जफत सिंह राईले बिरामीको लागि आपत्कालीन एम्बुलेन्स बोलाउन मानेनन्। राईले बिरामीका परिवारजनलाई आम्दाको दैनिक कर्मचारी बोक्ने गाडी आउन्जेल, 8 बजेसम्म पर्खिन भने। तर, दुर्भाग्य! सिकिस्त भागिमान गुरुङले आम्दाको गाडी आउन्जेल पर्खन सकेनन्। सो गाडी आउनभन्दा एक घण्टाअघि नै उनले अन्तिम सास लिए।

भागिमान गुरुङको मृत्यु हुनासाथै आम्दाको लापरबाहीबाट आजित भएका शरणार्थीहरूले शिविरस्तरीय स्वास्थ्य केन्द्रअगाडि नारा तथा धरना दिँदा शिविर व्यवस्थापन समितिका कार्यकर्ता र सशस्त्र प्रहरीबलका जवानहरू आएर स्थिति नियन्त्रणमा नलिएसम्म त्यो स्थल केही क्षणलाई तनावग्रस्त पनि भयो।

आम्दा नेपालको भूटानी शरणार्थी प्रथमिक स्वास्थ्य शाखाकी परियोजना प्रबन्धक डा.मधुरिमा भाद्रले पनि गुरुङको मृत्युमा गम्भीर समवेदना प्रकट गरेकी छन्। ''यस घटनामा प्रतिक्रिया दिनभन्दा पहिले म मेरो टीमले पठाएको रिपोर्ट हेर्छु,'' घरविदामा रहेकी डा.भाद्रले भूटान समाचार सेवालाई भनिन्, ''मैले सकेसम्म चाँडो सो घटनासम्बन्धी रिपोर्ट पठाउन भनेकी छु।'' घटनासम्बन्धी छानबिन-अनुसन्धान गर्ने र यदि उपचारमा कमजोरी वा लापरबाही गरेको पाइएमा तत्काल आफ्ना कर्मचारीलाई कारबाही गर्ने आश्वासन पनि डा. भाद्रले दिएकी छन्।

''समयमै सघन उपचारका निम्ति अन्यत्र पठाउने काम गरिएको भए गुरुङलाई मृत्युको मुखबाट जोगाउन सकिन्थ्यो,'' डा. भाम्पा राईले भने,''ग्यास्ट्रिकका पीडित रोगीहरूको पनि यस्तो संकेत हुनसक्छ र तत्काल मृत्यु हुनसक्छ, म यस घटनाको मूल्याङ्कन गर्छु र कमजोर पत्तो लाग्यो भने म पनि कडा गरी बोल्छु।''    

(हाम्रा समाचारदाता तिलक निरौलाको सहयोगमा)