प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली सेनाका प्रधानसेनापतिलाई पदबाट हटाउन अन्य दलहरुको समर्थन लिन गरेको प्रयास असफल भएको छ। बुधबार अवेर साँझ सकिएको संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक सेनापति कटवाललाई हटाउन अग्रसर देखिएको सरकार र त्यसको चर्को विरोध गरिरहेका अधिकांश गैरमाओवादी पार्टीहरु आमने-सामने हुने अवसर थियो। तर प्रधानसेनापति रुक्माङ्गद कटवालमाथि शुरु गरेको कारवाहीको पक्षमा दलहरुको समर्थन जुटाउने उदेश्यले गरिएको उक्त बैठकमा माओवादीले अधिकांश दलहरुको चर्को विरोध सामना गर्नु पर्यो। सेनापति हटाउन नदिन अभियान नै छेडेको मुख्य विपक्षी नेपाली कांग्रेसका एकजना नेता डा.प्रकाश शरण महतले भने, "गणतन्त्र स्थापनामा सघाएको सेनाका प्रधानसेनापतिले राज्य र सरकारको निर्देशनमा काम गर्ने स्पष्ट पारिसकेकाले त्यसलाई यहीँ टुंग्याएर निस्कासन गर्ने कुरा रोक्नु पर्ने हाम्रो धारणा राख्यौ।" त्यसअघि कांग्रेसको अगुवाइमा सरकारी कदम विरुद्ध मंगलबारदेखि एकजुट भएका गैरमाओवादी १६ दलले पनि संयुक्त बैठक गरी सेनापति हटाउन नदिने अडान कायम राख्ने निर्णय गरेका थिए। कारवाही स्थगित राजनीतिक पार्टीहरुको तीव्र दबाब र आलोचना तथा बढ्दो अन्तर्राष्ट्रिय चासोका कारण सरकारले सेनापति विरुद्ध अघि बढाएको कारवाही प्रकृया तत्कालका लागि रोकेको छ। सेनापतिले दिएको जवाफ चित्त बुझ्दो नभएको माओवादी नेताहरुले बताएका छन्। माओवादी सचिवालयको मंगलबार बसेको बैठकले प्रधानसेनापतिको स्पष्टीकरण चित्त बुझ्दो नभए कारवाही गर्न सरकारलाई निर्देशन दिएकाले त्यसैदिन छिनोफानो हुने अनुमान थियो। तर प्रधानमन्त्री निवासमा बुधबार बसेको माओवादी सचिवालय सदस्यहरुको बैठकले विषय गम्भीर बनेको भन्दै थप छलफल गरेर निर्णय लिन सरकारलाई आदेश दिएको बैठकका एकजना सहभागीले बताए। नागरिक सर्वोच्चताको अवज्ञा गरेको आरोप लगाउँदै सरकारले प्रधानसेनापतिलाई तपाईँलाई अवकाश किन नदिने भनी सोमबार २४ घण्टाभित्र जवाफ पठाउन स्पष्टीकरण सोधेको थियो। सेनापति कटवालले मंगलबार पठाएको जवाफमा सरकारद्वारा लगाइएको आरोपहरुको बचाउ गरिएको छ। | |||||